विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यसैकारण काठमाडौंमा मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसैगरी गुमनाम हुनुभयो…
स्थानीय तहको निर्वाचनमा ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज–कात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहींबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजूरआमाको पालामा पनि नेपाल विकासोन्मूख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मूख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मूख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू, जसले विवाह गरिसके– उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् ।
मेरो एउटा प्रश्न थियो– हामीले कति पुस्तासम्म ‘नेपाल विकासोन्मूख देश हो’ भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभर्इकन नेपाली समाज, त्यसमा पनि पितृसत्ताको जड कति छ भन्ने पनि मैले बुझें एकल आमा भएका कारणले । नागरिकता पाउन कति सकस छ भन्ने बुझें । बुझ्दै गर्दाखेरि फेरि पनि सबै कुरा ठोक्किने राजनीति र राजनीतिकर्मीमा । पछि गएर तिनै राजनीतिकर्मीहरूले समग्र देशलाई हेरेर बनाउने नीति–नियम रैछ । त्यसैले, म यही क्षेत्रमा लाग्नुपर्छ भन्ने बुझेर राजनीतिमा लागेकी हुँ ।
०७४ को स्थानीय चुनाव म जन्मेपछि भएको दोस्रो स्थानीय निर्वाचन थियो । पहिलो निर्वाचनका बेला त म भर्खर वामे सर्दै थिएँ । २० वर्षसम्म स्थानीय चुनाव भएन, त्यसमा म र मेरो पुस्ताको गल्ती छैन । हामी हुर्कंदै गर्दाखेरि कहिले पनि ठेलमठेल नभएको गाडी पनि हुन सक्छ भनेर सपना पनि देख्न सकेका थिएनौं । ट्राफिक जाम भनेको हाम्रो नियति नै हो, यसलाई भोग्नैपर्छ भनेर हुर्कियौं । अहिलेसम्म धेरै जनाको दिमागमा त्यही छ । तर, यी सबै गलत कुरा हुन् । यस्ता कुराहरू त स्थानीय सरकारले गर्न सक्छ भन्ने मेरो विश्वास हो । स्थानीय सरकारका बारेमा अध्ययन नै नगरीकन पनि हामी आएका होइनौं । म र मेरा साथीहरू ‘स्थानीय सरकार भनेको कार्यकारी हो, यसले गर्न सक्ने धेरै कामहरू छन्, कमसेकम आफ्नो सहर–गाउँसम्म त बदल्न सकिन्छ’ भनेरै चुनावमा आएका हौं । हो, सम्पूर्ण कुराहरू हामीले भनेका मात्रै ठीक छन् वा हामीले मात्रै बुझेका छौं भनेरचाहिं म ठोकुवा गर्दिनँ । हरेक दिन नयाँ अध्ययन गर्दै, सिक्दै जानुपर्छ ।
खगेन्द्र पन्तको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा यससम्बन्धी विस्तृत सामग्री प्रकाशित छ ।