६० वर्षअघि, २२ वर्षको उमेरमा उनले बिहे गरे । दुई छोरा र दुई छोरीका बुबाआमा भए । ती दिन कम्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।
‘त्यो बेला दुःख–सुख गरी घर सम्हालें,’ गौरीशंकर गाउँपालिका– ८, खारे, दोलखाका ८२ वर्षीय वृद्धले भने– ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ ७८ वर्षीया श्रीमतीसँग सम्बन्ध–विच्छेदका लागि उनले ७ भदौमा जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्द–विच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।
‘२०५० सालदेखि झै–झगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने– ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ चैत, २०७३ मा श्रीमतीले ‘अंशचलन’ मुद्दा हालेको सुनाउँदै उनले भने– ‘मैले अंश दिएँ ।’
नेपाली समाजमा विरलै भेटिने अनौठो घटनासम्बन्धी यो खबर रवीन्द्र गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।