ज्याला–मजदुरी गर्ने व्यक्तिका नाममा कम्पनी खोलेर नक्कली बिजक बिक्री गरी २४ वटा फर्मले झन्डै दुई अर्ब रूपैयाँ कर छली गरेका छन् ।
ती फर्मका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जयकिशोर साह र परमेश्वर साह समेतले अनपढ मजदुरका नाममा व्यापारिक फर्म दर्ता गराई झुटा तथा नक्कली कर बिजक जारी गरेर मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
दाखिल गर्नुपर्ने भ्याट, थप दस्तुर र ब्याज समेत गरी ६५ करोड ४४ लाख, दाखिल गर्नुपर्ने आयकर, थप दस्तुर र ब्याज समेत गरी १ अर्ब ९ करोड राजस्व चुहावट भएको विभागको दाबी छ ।
बिगो र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोको दोब्बरसम्म जरिवाना समेत ३ वर्षसम्म कैद सजायको मागदाबी पनि विभागले प्रतिवादीविरुद्ध गरेको खबर कृष्ण रिजाल र सुवास भट्टको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।