बाग्मती ‘ब्युटीफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै एसियाली विकास बैंक (एडीबी) ले त्यसबाट हात झिक्ने चेतावनी दिएको छ ।
मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहयोग रोक्ने चेतावनीसहितको पत्र सहरी विकास मन्त्रालयलाई पठाएको हो । आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैंचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोधन गरेर नदीमा पठाउने कार्यक्रम छ ।
यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर, गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले आफूहरुको जग्गा परेको भन्दै मुआब्जा मागेपछि एक महिनादेखि काम ठप्प छ । ‘स्थानीयले विवाद झिकेका छन्,’ अधिकारसम्पन्न बाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने– ‘एडीबीले हात झिक्ने चेतावनी दिएको छ, अब आयोजना अलपत्र पर्ने भयो ।’
स्वदेशकै जिम्मेवार पदाधिकारीको अक्षमताका कारण वैदेशिक सहायता समेत धरापमा परेको यो खबर दीपेन्द्र विष्टको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।