दिनभर गिट्टी कुटेर आफ्ना बालबच्चा पालिरहेकी रुकुम पश्चिमस्थित त्रिवेणी गाँउपालिका– ३ की विना वादीलाई न ‘अन्तर्राष्ट्रिय महिला दिवस’ अर्थात् ‘नारी दिवस’ बारे थाहा छ न त राज्यका कुनै औपचारिक कार्यक्रम ।
श्रीमान गंगाराम ७ वर्ष पहिले नै अर्की श्रीमती लिएर भारत गएपछि छोराछोरी र आफ्नो छाक टार्नका लागि पनि दिनभर यसरी गिट्टी कुट्न बाध्य छिन् विना वादी । छोराछोरीको पढाइको त कुरै छाडौं, कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । उनले १४ वर्षदेखि गिट्टी कुटिरहेकी छन् ।
चार सन्तानकी आमा भइसकेकी विना दिनभर गिट्टी कुटेर साँझ–बिहानको छाकको जोहो गर्छिन् । विना मात्र होइन, त्रिवेणी– १ कै मनकली परियार पनि दिनभर गिट्टी कुट्नमै व्यस्त हुन्छिन् । मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हक–अधिकारको पक्षमा कुन ठाँउमा के भइरहेको छ भन्ने पनि उनले कहिल्यै थाहा पाइनन् ।
मनकलीलाई आफूले काम गरेको श्रमको मूल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ । श्रम गरेअनुसार गिट्टीको मूल्य प्रतिट्याक्टर ५ हजार तथा प्रतिकठ्ठा ७० रुपैयाँका दरले बिक्री गर्ने गरेको उनले बताइन् । उनले भनिन्– ‘मलाई मेरो श्रमको मूल्य कसरी पाँऊँ भन्ने मात्र चिन्ता छ, कुनै दिवसबारे थाहै छैन ।’
८ मार्चमा शुक्रबार संसारभर मनाइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र नेपालका नारीहरुको वास्तविक कथासम्बन्धी यो खबर धनवीर दाहालको बाइलाइनमा शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।