झिमरुक गाउँपालिका– १, सौतामारे, तल्लोगाउँ, प्युठानका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला–बेला झगडा हुने गर्थ्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो ।
छिनमै रिसाउने, छिनमै मिल्ने बानी उनीहरुलाई भइसकेको थियो । तर, विडम्वना ! समय सधैं एकनास रहँदैन र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधैंजस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् ।
स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्यधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै विष्णुको मृत्यु भयो ।
पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाइएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन ।
बुबा–आमाको झगडाका कारण नाबालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी वसन्तालाई आमा–बुबाबारे सोध्नै हुँदैन । उनीहरु मन थाम्नै सक्दैनन् । बुबा–आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुबा–आमाबारे केही बोल्न नसक्ने खबर केशर रोकाको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।