newskoseli.Com

योगेशलाई फेरि ‘धोका’ : प्रधानमन्त्रीद्वारा मन्त्री बनाउन अस्वीकार !

मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् ।

मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजना अनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केही मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा रहेका छन् ।

केही समयअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालयमा नयाँ मन्त्री को हुने भन्नेबार पनि छलफल सुरु भएको छ । निर्वाचनकै सिलसिलामा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमै पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङवासीको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए ।

तर, ओली नेतृत्वको मन्त्रिमण्डल गठन हुँदा त्यसमा योगेश अटाएनन् । अहिले मन्त्रालय खालि हुँदा र थप हेरफेर समेत हुँदा भट्टराई मन्त्री बन्ने चर्चा पुनः सुरु भएको छ । मन्त्रीहरुको हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।

‘अध्यक्ष प्रचण्डले पर्यटन मन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’

तर, प्रधानमन्त्री ओलीले भने प्रचण्डलाई जवाफ दिँदै भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए । मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल सुरु भएको नेकपाका नेता देवेन्द्र पौडेलले स्वीकारेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर