newskoseli.Com

विप्लवबारे विवाद : प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद, ओलीभन्दा पोखरेल अझ ‘उग्र’ !

सरकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘प्रतिबन्ध’ लगाएको छ । तर, उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्र मात्र होइन, सरकारमा सहभागी मन्त्रीहरुबीच पनि मतभेद देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै विप्लव नेतृत्वको पार्टीप्रतिको दृष्टिकोण बाझिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई वार्तामा आउन चैत महिनाभरको ‘अल्टिमेटम’ दिएका छन् । उनले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा ‘विप्लव समूहलाई संवादमा आउन चैत महिनाको समय दिइएको’ जानकारी दिए । तोकिएको समयमा वार्तामा नआए नियन्त्रण गर्ने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकमा यस्तो बताइरहँदा उता विराटनगरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने ‘हतियार बुझाए मात्र विप्लव समूहसँग वार्ता हुन सक्ने’ अभिव्यक्ति दिएका छन् । रक्षामन्त्री पोखरेलले ‘विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको’ पनि दाबी गरे । ‘विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको’ उनको भनाइ थियो । ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ । विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ’– रक्षामन्त्री पोखरेलले भने ।

प्रधानमन्त्री ओलीले भने हतियार बुझाउने वा बिसाउने कुनै कुरा गरेनन् । यसअघि नै विप्लव नेकपालाई ‘प्रबिन्ध’ लगाए लगत्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर असहमति प्रकट गरेका थिए । यो विषयमा सचिवालयको बैठक राखेर छलफल गर्नुपर्ने माग उनीहरुले गरेका थिए । तर, उनीहरु यतिबेला भने केही बोलेका छैनन् । त्यतिबेला भने उनीहरुले ‘प्रतिबन्ध समस्याको समाधान होइन’ भन्दै विरोध गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर