newskoseli.Com

विप्लव–प्रहरी दोहोरो गोली हानाहान : थप २१ पक्राउ, जिल्ला इन्जार्ज घाइते

सरकारी सुरक्षा–संयन्त्र र सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीबीच दोहोरो गोली हानाहान सुरु भएको दुवै पक्षले पहिलो पटक स्वीकार गर्दै पुष्टि गरेका छन् । यसबाट नेपालमा अब फेरि सशस्त्र द्वन्द्वको अर्को अध्याय सुरु हुन पुगेको छ ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका थप २१ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । नेकपाका गतिविधिमा ‘प्रतिबन्ध’ घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ ।

रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा विप्लवका कार्यकर्ता र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा नेकपाका कार्यकर्ता जम्मा भएको जानकारी पाएपछि प्रहरी गएको थियो । ‘प्रहरी टोलीले देखेपछि नेकपाका कार्यकर्ताले फायर खोले, त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो, विस्तृत विवरण आउन बाँकी छ,’ प्रहरी प्रमुख जनक शाहीले भने– ‘केहीलाई पक्राउ पनि गरेको छौं ।’

नेपाल कम्युनिस्ट पार्टीले भने प्रहरीले आफूलाई तर्साउन खोजेपछि बाध्य भएर फायरिङ गर्नुपरेको बताएको छ । ‘हामी आफ्नै तरिकाले बसेका बेला प्रहरीले हामीमाथि दमन गर्न खोज्यो, पहिले प्रहरीले नै फायरिङ खोलेको हो,’ ती नेताले भने– ‘भीडन्तमा हाम्रो अछाम इन्चार्ज सामान्य घाइते हुनुभएको छ ।’

दोहोरो गोली हानाहानबारे दुवै पक्षले स्वीकार गर्दै पुष्टि गरेको यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर