बारा जिल्लाको फेटा गाउँपालिका, पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८ बजे खाना खाने तयारी गर्दै थियो । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्के ।
‘ठूल–ठूलो असिना झरिहाल्यो,’ उनले थपे– ‘के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी पो आयो ।’ यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ बताउँछन् ।
‘चितवन हुँदै बेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित बेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,’ विज्ञ श्रेष्ठले थपे– ‘बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलठूला ढिक्काको असिना बन्यो ।’ त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा–पर्सामा ठूला असिना वर्षिएको उनले बताए । असिनाको आकार पनि झन्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ ।
वायुमण्डलमा न्यूनचापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्वतिर बहन्छ । त्यही दिन बङ्गालको खाडीबाट साढे एक किलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तर–पश्चिम हुँदै त्यहाँ पुग्यो । ‘भारतको मध्य प्रदेशको न्यूनचापीय प्रणालीबाट खालि ठाउँ खोज्दै आएको थियो,’ मौसमविद् मिन अर्यालले भने– ‘त्यही बेला अरेबियन सागरको उच्चचापीय तातो वायु पनि त्यही गतिमा बारा–पर्सा आइपुग्यो ।’ यसरी आएको वायुको बेग झन्डै ७० किलोमिटर प्रतिघन्टा थियो ।
उनका अनुसार तीव्र गतिको तातो–चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो । मौसमको त्यो चक्रले मानव वस्तीमा असिनासँगै आँधी वर्षियो ।
अर्यालले भू–उपग्रहमा त्यो समयको अध्ययन गरिरहँदा तस्बिरमा स–साना केही थोप्लाको सङ्केत मात्र देखिएका थिए । त्यसको उच्च प्रभाव थाहा पाए पनि नेपालमा स्थानीय मौसम अध्ययन गर्ने राडारको अभावका कारण तत्कालै स्थान यकिन गर्न नसकिएको उनले दावी गरेको खबर चाँदनी हमालको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।