बारा–पर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ ।
क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्नै नहुने गरी पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृह मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बारामा मात्र हावाहुरीका कारण १ हजार ८ सय ९५ घरमा पूर्ण क्षति पुगेको छ । ९ सय ५५ घरमा भने आंशिक क्षति भएको छ ।
त्यसैगरी, हावाहुरीले तीनवटा इँट्टा उद्योग र एक स्वास्थ्य चौकीमा समेत क्षति पुर्याएको छ । पर्सामा भने ४ सय ३७ घर क्षतिग्रस्त भएका छन् । हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको परवानीपुरको वडा नम्बर– ४ का चैनपुर, शिवपुर, रामटोल, बिर्ताटोलमा पुगेको छ । त्यहाँका ५ सय ४८ घरमध्ये ३ सयमा पूर्ण क्षति भएको छ भने २ सय ४८ मा आंशिक क्षति पुगेको छ ।
यसैगरी, सूर्वण गाउँपालिकाको वडा नम्बर १, ४, ५ र ८ मा गरी ४ सय ३४ घरमा क्षति भएको छ । २ सय ६१ घरमा पूर्ण क्षति र १ सय ७३ घरमा आंशिक क्षति भएको खबर कन्हैयालाल केसरी र शिवशङ्कर मिश्रको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।