newskoseli.Com

हालै भेटियो ४ करोड वर्ष पुरानो चारखुट्टे ह्वेलको अवशेष

प्राग्–मानवशास्त्रीहरूले हालै पेरूमा ४ करोड ३० लाख वर्ष पुरानो चारखुट्टे ह्वेलको झन्डै–झन्डै पूर्ण रूपको अवशेष फेला पारेका छन् ।

अवशेषको अध्ययन गर्दा ह्वेलको लम्बाइ चार मिटर भएको पाइएको छ । शारीरिक बनावटका आधारमा यो पौडिनुका साथै जमिनमा समेत हिँड्न सक्ने भएको अनुमान प्राग्–मानवशास्त्रीहरूले गरेका छन् । उनीहरूका अनुसार प्राचीन कथामा कल्पना गरिए झैं यो ह्वेलका चार खुट्टा यसको शरीरको भार धान्न सक्ने बलिया छन् ।

पानी र जमिन दुवैमा बाँच्न सक्ने यसको पुच्छर पनि एकदमै शक्तिशाली छ । यो अवशेषले ह्वेलको विकास र विस्तारबारेको अनुसन्धानमा धेरै मद्दत पुग्ने अनुसन्धाताहरूको विश्वास छ । ‘चारखुट्टे ह्वेलका हामीले धेरै अवशेष भेटेका छौं, धेरैजसो भारत र पाकिस्तानमा भेटिएका छन् तर ती देशभन्दा बाहिर हामीले भेटे मध्येकै सबभन्दा स्पष्ट र पूर्ण अवशेष हो यो’– अनुसन्धाता डाक्टर ओलिभर ल्याम्बर्टले भनेका छन् । ल्याम्बर्ट ‘रयल बेल्जियन इन्स्टिच्युट अफ नेचुरल साइन्सेस’ का वैज्ञानिक हुन् ।

यो अवशेष पेरूको प्यासिफिक कोस्टभन्दा एक किलोमिटर टाढा फेला परेको थियो । उनीहरू यो क्षेत्रमा खोजबिन गरिरहेका थिए । संसारका पहिला ह्वेलहरू ५ करोड वर्षअघि दक्षिण एसियाबाट उत्पत्ति भएको अनुसन्धाताहरूको अनुमान थियो । पहिलेका ह्वेल पानी र जमिन दुवैमा बाँच्ने सक्थे । ती ह्वेलले उत्तरी अफ्रिका र उत्तरी अमेरिका हुँदै जमिनमार्फत् नै बसाइसराइँ गरेको अनुसन्धाताहरूको अनुमान छ । यिनै क्षेत्रमा ह्वेलका अवशेष फेला परेका थिए ।

तर, समयक्रमसँगै ती ह्वेल पानीमै मात्र सहज हुन थाले । प्राग्–मानवशास्त्रीहरूले अहिले फेला पारेको अवशेषले ह्वेलहरू दक्षिण अमेरिकाबाट पौडिएर पनि आएको देखाउँछ । यसअघि भेटिएका चारखुट्टे ह्वेलका अवशेषले तिनीहरू पौडिन सक्थे वा सक्दैनथे भन्ने स्पस्ट भएको थिएन ।

‘ह्वेलको विकासक्रम एकदमै अचम्मको र उदाहरणीय छ,’ लन्डनको न्याचुरल हिस्ट्री म्युजियमका प्राचीन ह्वेल अनुसन्धाता ट्राभिस पार्कले भने– ‘तिनीहरू स–साना चारखुट्टे जनावरबाट आजका विशाल ह्वेल बनेका छन् जो समुद्रमा राज गर्ने भएका छन् र उनीहरूको यो यात्रा ज्यादै रोचक छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर