नेपाली कांग्रेसमा यतिबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको व्यवस्थापन एउटा सकसका रूपमा देखा परेको छ ।
कार्यसम्पादन समितिदेखि पार्टीका विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न कांग्रेसमा समस्या परेको हो । केन्द्रीय समिति बैठक समेत सहज तवरबाट गर्न नसकेको कांग्रेसमा समाधानको खोजीस्वरूप सोमबार बिहान फेरि अनौपचारिक बैठक भए पनि कुनै निकास निस्केन ।
सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार अनौपचारिक बैठक बसे पनि उक्त बैठक कुनै समाधानविनै टुंगिएको थियो । त्यसपछि फेरि सोमबार बिहान बसेको अर्को अनौपचारिक बैठकमा पनि असन्तुष्ट पूर्वमहामन्त्री सिटौला सहभागी नै भएनन् ।
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यसम्पादनदेखि विभागहरूमा ४० प्रतिशत भागबन्डा दिने बताएदेखि नै सिटौला समूह रुष्ट भएको हो । सभापतिले त्यही ४० प्रतिशतमा सिटौलालाई समेत समेट्न वरिष्ठ नेता पौडेललाई भनेका थिए । पौडेलले त्यसलाई अस्वीकार गरे तर सिटौलाले आफूलाई अपमानित गर्न खोजेको आरोप लगाएको खबर नवीन झाको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।