नेपाल सरकारको अनुमतिमै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।
राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायतका आईएनजीओले समाज कल्याण परिषदबाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।
यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जबाफ माग्ने भएको छ । ती संस्थाले करोडौं रुपैयाँ खर्च गरी धर्म प्रचार गरिरहेको उपसमितिको दाबी छ । ‘क्रिस्चियन धर्म प्रचार गर्ने संस्थालाई कसरी अनुमति दिइएको छ ?’ समितिले प्रश्न उठाएको खबर गोविन्द लुँइटेलको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।