केही दिन अघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’ भनें ।
‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्यो र मेरी बहिनीलाई जबर्जस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ ।
हामीले यतातिर, उनीहरूले उतातिर– एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर के–के समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’
‘ह्यास ट्याग मीटु’ प्रयोग गर्ने दुनियाँलाई यो वास्तविकता ‘एकादेशको कथा’ जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १ सय ४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो । लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्यो । अनि दाजुभाइकी ‘साझा दुलही’ भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।
आजको समयमा पनि नेपाली नारीहरुले भोगिरहेको अपत्यारिलो वास्तविकतासम्बन्धी यो खबर शिव उप्रेतीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।