newskoseli.Com

श्रीलंका विष्फोट : ३१० को मृत्यु, ५०० घाइते, ४० पक्राउ

श्रीलंकाका विभिन्न चर्च र होटलहरुमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ३ सय १० पुगेको छ । ती घटनामा ५ सय जना घाइते भएको प्रहरीले जनाएको छ । घटना कसले गराएको भन्ने आधिकारिक पुष्टि नभए पनि शंकास्पद ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढ्दो मृत्यु र त्रासका कारण श्रीलंकामा आइतबार रातिदेखि देशव्यापी संकटकाल घोषणा गरिएको छ भने सोमबार राष्ट्रिय शोक मनाइएको छ । आइतबारका आक्रमणस्थलमध्येको एक कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामूहिक अन्तिम संस्कार गरिएको छ । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरियो ।

कसैले पनि जिम्मा नलिएको यस घटनामा स्थानीय जेहादी गुट ‘नेसनल तौहिद जमात’ को संलग्नता रहेको सरकारले बताएको छ । आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । प्रहरीका अनुसार यसअघि पनि एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्क्रिय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि सहरका विभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।

विष्फोट हुँदैछ भन्ने पूर्वसूचना प्रहरीले पहिल्यै पाइसकेको भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद पनि बढेको छ । विष्फोटलाई रोक्न कदम नचालेको भन्दै कतिपयले सरकारमाथि प्रश्न उठाएका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँग कुरा गर्दै सरकार चुक्यो कि चुकेन भन्ने कुराको अनुसन्धान हुने अभिव्यक्ति दिएका छन् । अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीले आक्रमणको चेतावनी प्रहरी अधिकारीलाई दिए पनि त्यो सूचना प्रधानमन्त्री विक्रमासिंघेसम्म नपुगेको श्रीलंका सरकारका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले बताएका थिए । यो घटनापछि सिर्जना भएको वादविवादले श्रीलंकाको राजनीतिमा हंगामा मच्चिएको बीबीसी उल्लेख गरेको छ ।

शंकास्पद भनेर पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर