नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको पनि तयारी गरेको छ ।
विगत आठ वर्षको अवधिमा २० देशका ७ सय ६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्तिकार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउन्टेन वारफेयर, काठमाडौंको शिवपुरीमा कमान्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।
तीमध्ये प्याराजम्प, रेञ्जर (कमान्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित सैनिक अभ्यसहरु चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमान्डसँग संयुक्त रूपमा सञ्चालन हुँदै आएको खबर देवबहादुर कुँवरको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।