newskoseli.Com

आफ्नै अंगरक्षकसँग थाई राजाको चौथो विवाह : जसलाई उनैले एयरहोस्टेसबाट जर्नेल बनाएका थिए

थाइल्याण्डका राजा महाभाजिरलंकर्णले आफ्नी अंगरक्षकसँग विवाह गरेका छन् । उनले आफ्नो सुरक्षा दस्ताको उपप्रमुख रहेकी जनरल सुथिदासँग विवाह गरेका हुन् ।

विवाहपश्चात भाजिरालंकर्णले उनलाई महारानीको उपाधि प्रदान गरेको शाही विज्ञप्तिमा उल्लेख छ । शनिबार हुने औपचारिक राज्याभिषेक समारोह अगाडि राजाले अप्रत्याशित रुपमा अकस्मात विवाह गरेका हुन् ।

शाही विज्ञप्तिमा जनाइएअनुसार राजा भाजिरालंकर्णले जनरल सुथिदा भाजिरालंकर्ण न आयुध्यालाई महारानी सुथदामा पदोन्नति गर्ने निर्णय गरिसकेका छन् । उक्त निर्णयसँगै उनी शाही परिवारको सदस्य बनेकी छन् भने महारानीको उपाधि समेत प्राप्त गरेकी छन् ।

सन् २०१६ मा पिता भूमिबोल अदुल्यादेजको निधनपछि थाइल्याण्डको राजा बनेका भाजिरालंकर्णले यसअघि नै तीन पटक विवाह र सम्बन्ध–विच्छेद गरिसकेका थिए । उनी सात सन्तानका पिता हुन् ।

सुथिदा लामो समयदेखि नै राजा भाजिरालंकर्णको साथमा रहेर सुरक्षाको काम गर्दै आएकी छन् । उनी केही वर्ष यता सार्वजनिक स्थल र कार्यक्रमहरुमा राजासँगै देखिँदै आएकी छन् । यसअघि उनीहरुबीचको सम्बन्ध आधिकारिक रुपमा स्वीकार गरिएको थिएन । उनीहरुको वैवाहिक समारोहमा राजपरिवारका अन्य सदस्यहरु उपस्थित थिए ।

थाई टेलिभिजनले प्रशारण गरेको वैवाहिक समारोहको दृश्यमा राजाले रानी सुथिदाको शिरमा ‘पवित्र जल’ छर्किएको देखिन्छ । त्यसलगत्तै राजदम्पतीले ‘विवाह रजिस्टर’ मा हस्ताक्षर गरेको दृश्य पनि टेलिभिजनमा देखिएको छ ।

राजा भाजिरालंकर्णले सन् २०१४ मा थाई एअरवेजकी भूतपूर्व परिचारिका (एअरहोस्टेस) सुथिदालाई आफ्नो अंगरक्षक दस्ताको उपप्रमुख पदमा नियुक्त गरेका थिए । सन् २०१६ मा उनलाई जनरलमा बढुवा गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर