सरकारले बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने– ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर थप विवादमा पारेको छ, यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक–पटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन् । सरकारकै कारण राष्ट्रपति पटक–पटक विवादमा तानिएको देउवाले बताएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।