newskoseli.Com

‘चन्द्रागिरि हिल्स’ लाई कारबाही गर्न सिफारिस

चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिका संरचना निर्माण गरेको भन्दै उक्त कम्पनीमाथि कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

‘अनुगमनका क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन, २०५३ को दफा १८ (१) अनुसार कारबाही गर्नु उपयुक्त देखिन्छ,’ यसै साता विभागले मन्त्रालयमा पठाएको प्रतिवेदनमा भनिएको छ– ‘संरचना निर्माण गर्दा आयोजनाले ईआईए प्रतिवेदन ख्याल गरेको देखिएन ।’

‘प्रस्ताव स्वीकृत नगराई वा स्वीकृत प्रस्तावविपरीत कुनै कार्य गरे तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्ने र त्यस्तो कार्य कुनै व्यक्ति वा संस्थालले गरेको भए निजलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने’ व्यवस्था वातावरण ऐनको दफा १८ (१) मा उल्लेख छ । कारबाही गर्ने निकाय वन तथा वातावरण मन्त्रालय नै हो ।

विभागलाई कारबाही गर्ने अधिकार नभएकाले मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए । ‘चन्द्रागिरिले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरणमैत्री र कटेज नभई कंक्रिट टावर भएको पुष्टि भयो,’ सापकोटाले बिहीबार भने– ‘त्यसैले कारबाही गर्न सिफारिस गरेका हौं ।’

चन्द्रागिरिसम्बन्धी विभागले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गरिरहेको जानकारी मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धु ढंगानाले दिए । तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवबाट १९ भदौ, २०६९ मा स्वीकृत चन्द्रागिरिको ईआईए प्रतिवेदनमा वातावरणमैत्री ४० वटा कटेज निर्माण गरिने उल्लेख छ ।

वातावरण मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाले चन्द्रागिरिका संरचना ईआईएअनुसार निर्माण भए–नभएको अनुगमन गरी प्रतिवेदन पेस गर्न १७ चैतमा विभागलाई जिम्मेवारी दिएको थियो । महानिर्देशक सापकोटाले त्यसको भोेलिपल्टै विभागका वातावरण निरीक्षकहरु सम्मिलित अनुगमन कार्यदल बनाएर अध्ययन थालेका थिए ।

कार्यदलमा वातावरण निरीक्षकहरु भुपेन्द्र शर्मा, स्वस्ति श्रेष्ठ, हसना श्रेष्ठ, लक्ष्मीकुमारी ठगुन्ना, विभागका सिभिल इन्जिनियर अजय आचार्य र वन तथा भूसंरक्षण विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारी संलग्न थिए । उनीहरुले २१ र २६ चैत गरी दुई पटक स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर