तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै सत्ताधारी नेकपाभित्र विवाद बढेको छ ।
यसै क्रममा बुधबार सार्वजनिक मञ्चबाटै नेताहरुबीचको विवाद छताछुल्ल भएको छ । शुक्रबार (३ जेठमा) पार्टी एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको ‘घोचपेच’ ले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ ।
नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटक–पटक प्रश्न उठाएका थिए । तर, सार्वजनिक मञ्चबाटै शीर्ष तहमा विवाद र घोचपेच भने बुधबार नै पहिलो पटक भएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।