स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारीको भर्ना खुलाउने सम्बन्धी ‘बाधा अड्काउ फुकाउ प्रस्ताव’ मन्त्रिपरिषदमा पुगेको छ ।
स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन लोकसेवा आयोगले परामर्श सहितको पत्र सरकारसमक्ष पठाएको थियो । लोकसेवाको सो प्रस्तावलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार मन्त्रिपरिषदमा पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको ‘बाधा अड्काउ फुकाउ प्रस्ताव’ पारित हुनेछ । त्यसलगत्तै लोकसेवा आयोगले झन्डै १३ हजार पदमा विज्ञापन गर्नेछ । लोकसेवा आयोगले ती पदमा भर्ना खुलाउनेसम्बन्धी गृहकार्य तीव्र पारेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।