गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपछी पाल्न कडा ‘प्रतिबन्ध’ लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।
‘अब हाम्रो वडाभित्र पशुपछी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुनेछ,’ चुमनुब्री गाउँपालिका– ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने– ‘कोही–कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा सूचना दिनेलाई समेत १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’
यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिवानावापत संकलन हुने रकम ‘अहिंसा अभियान’ मै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ,’ उनले भने– ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपछी किनबेच हुँदै हुँदैन ।’
स्थानीय तहले गरेको अर्को एउटा अनौठो निर्णयबारेको यो खबर शिव उप्रेतीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।