नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो ।
हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला पर्यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो घटना शुक्रबार दिउँसो साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन सुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो ।
साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्कने क्रममा नरैनापुरमा आइपुगेकी थिइन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरी चौकी गइन् ।
चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । ‘निर्दोष छ भने प्रहरीले छाडिहाल्छ’ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढिन् । धेरै भारतीय र केही नेपालीले उनलाई घेरे । विश्वकर्मालाई नछाडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए र पेट्रोल छर्केर आगो लगाउने सुरसार कसेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।