जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।
भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरुले कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु भने रक्सी खाँदै बाहिर पहरेदार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ४, सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् ।
कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थ्यो किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ मा ११ वर्षको जेल सजाय तोकेको छ । तर, उनी सदरमुकाम धादिङबेंशीको एक होटलको कोठा नम्बर १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको होइन, उपचार गर्ने बहानामा जिल्ला कारागार धादिङबाट आफैं बाहिर आएका हुन् ।
कारागारको हदैसम्मको अनियमिततासम्बन्धी यो खबर सरिता श्रेष्ठको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।