मिक्लाजुङ गाउँपालिका– ३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका वासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन । दुई परिवारका नौ जनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अड्कलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौ जनाको हत्या सपनाजस्तो लागेको छ ।
‘गाउँमा त शान्ति थियो, अलि–अलि झैझगडा बाहेक खास केही थिएन, मान्छे त्यसै तराई झर्या होइनरहेछन्’– स्थानीयवासीका यस्तै–यस्तै टिप्पणी सुनियो । दुई घरमा रगतका टाटैटाटा थिए । सामान्य आर्थिक अवस्थाका दुई परिवारले घरमा बर्खालाई दाउरा र खाद्यान्नको जोहो गरेको देखियो । दुवै घरलाई प्रहरीले घेरेका थिए । गोठमा वस्तुभाउ कराइरहेका थिए । आफन्त अनेक बिलौना गरेर रुँदा गाउँले निःशब्द बने ।
‘सपनाजस्तो लागेको छ, काममा फर्किन मनै छैन । खान, काम गर्न, सुत्न मन लागेको छैन, एकतमासको भइएको छ,’ स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्– ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’
गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ । आँखामा मारिएकाको अनुहार मात्र नाचिरहेको स्थानीय जनप्रतिनिधि डुजन फियाकले बताए । मारिएका नौ जनामध्ये चार जना १५ वर्ष मुनिका छन् । ‘चपिङबोर्डमा प्याज काटे झैं हत्या गरेको देखियो । शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो,’ अर्का स्थानीयवासी पहलमान फियाकले भने– ‘यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिनुपर्छ, यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ ।’
अकल्पनीय हत्याकाण्डबारे स्थानीयवासीको अनुभूतिसम्बन्धी यो खबर गिरिराज बाँस्कोटाको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।