विभिन्न गुट–उपगुटमा विभाजित रहेका कारण प्रतिपक्षीको भूमिकामा समेत निकै कमजोर रहेको कांग्रेसभित्र छायाँ सरकार गठनमा समेत तीव्र असन्तुष्टि देखिएको छ ।
सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छायाँ सरकार गठन गरेको थियो । छायाँ सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंहलगायत छन् ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छायाँ सरकार गठन गरेका थिए । कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ । छायाँ सरकारको परराष्ट्र समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी लिखित रूपमै संसदीय दललाई गराएको खबर नवीन झाको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।