चीनबाट हिमाल छेडेर नेपालसम्म रेल ल्याउन सजिलो छैन । तर, काठमाडौंमा भने आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौं रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।
चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्– ‘यस्तो भूगोल छ, चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैंमा जटिल कुरा हो । यहाँ भइरहेको बहस सुनेर म पनि अचम्मित छु ।’
राजदूतका रुपमा जिम्मेवारी लिएर नेपाल आएपछि यो नै उनको पहिलो पत्रकार सम्मेलन हो । राजदूत यान्छीले भनिन्– ‘रेललाई हल्का रुपमा हेरिएको छ, वास्तवमा भन्नुपर्दा संसारकै अप्ठ्यारो ठाउँमा रेल निर्माण गर्ने प्रसंग यतिबेला अघि बढेको छ ।’ नेपालमा चिनिया रेलको चर्चा र राजदूतको भनाइसम्बन्धी यो खबर शुक्रबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।