सोमबार (आज) आयोजित नेपाल बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव नेकपाका कार्यकर्ताले टाइमरमा समय सेटिङ मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकै पटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटिए ।
दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार टाइमर मिलाउने क्रममा १२ घन्टाअघि नै एक्कासि बम पड्किएको अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले बताएका छन् ।
सोमबारको बन्दलाई लिएर विप्लव नेकपाले थुप्रै ठाउँमा विस्फोटको तयारी गरेको देखिन्छ । तर, प्रहरी र गुप्तचर निकायलाई त्यसको सुइँको समेत थिएन । यसले सुरक्षा निकायको सूचना संयन्त्र कति कमजोर छ भन्ने देखाएको खबर नवराज मैनाली र टेकराज थामीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।