दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसदभवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो ।
संसदभवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ । सिंहदरबारको पुतली बगैंचास्थित १ सय ७६ रोपनी ८ आना क्षेत्रफलको जग्गामा नयाँ संसद भवन बनाइने भएको छ ।
सो भवन हालसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ । ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ । ठेकेदार कम्पनी छनोट भए पछि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’– सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भनेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।