‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौका छोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुर्व्यवहार त मैले आँशु पिएर पनि सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरें । तर, उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ, त्यहीं जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ, उसको वासना पूरा गर्न म त्यहीं–त्यहीं पुग्छु ।’
बालविवाहको पीडा समेत भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिँदै माथिका कुरा भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर आफू शारीरिक सम्पर्क राख्न बाध्य भएको किशोरीको भनाइ थियो ।
घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताएको खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।