नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ । कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न जंगी अड्डाले आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ ।
पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरक र विशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही भेदभावजस्ता कमजोरी औंल्याइएको छ । निकै सुविधा दिइएको अमेरिका, बेलायत र छिमेकी भारतमा पनि यस्तो अवस्था छ । तर, त्यहाँ ठूलठूला लडाइँमै होमिनुपर्ने भएकाले यस्तो अवस्था आए पनि नेपालमा भने सेनाले जोखिमपूर्ण काम गर्नु परेको छैन ।
शान्ति सेनामा गएबाहेक मुलुकभित्र भने खासै खतरा सेनालाई देखिँदैन । तर पनि सेनामा त्यस्तो अवस्था आउन थालेपछि जंगी अड्डाले यसको भित्री अध्ययन गरेको हो । अध्ययनले देखाएको अवस्थाले सेनाको नेतृत्व चिन्तित बनेको छ । छिमेकी र विकसित मुलुकको दाँजोमा चिन्ताजनक स्थिति नभए पनि यो क्रम अहिले बढ्दै गएको भन्दै सेनाले सरकार समक्ष अध्ययन प्रतिवेदन बुझाएको रक्षा उच्च स्रोतले बतायो ।
०४८ यता १ सय १९ सैनिकले आत्महत्या गरेकामा पछिल्लो समय यो क्रम बढ्न थालेपछि सेनामा चिन्ता बढेको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।