मुद्दा फैसलामा ‘न्यायिक विचलनता’ देखिएको अभियोगमा न्यायपरिषदले काजमा तानेका ११ मध्ये ९ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने र घर फर्कनेमा नै सीमित छ ।
४ महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषदले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये २ न्यायाधीशबारे परिषदले निर्णय गरिसकेको छ, अन्यको हकमा भने कुनै निर्क्योल निकालेको छैन । समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको हो ।
छानबिनकै चरणमा उच्च अदालतका २ न्यायाधीशले अवकाश नै पाइसकेका छन् । अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन । परिषदले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ८ जनालाई काजमा राखेको छ ।
सुरुवातमा माघ ४ गते परिषदले विराटनगरका ५ न्यायाधीशलाई छानबिन प्रंक्रिया अघि बढाउने निर्णय गर्दै काजमा राखेको थियो । लगत्तै मुख्य न्यायाधीश भुर्तेलसहित ३ जनालाई पनि काजमा झिकाएको खबर नारायण काफ्लेको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।