दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ । पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन् ।
पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर संकलन गर्न गतवर्ष जेठ १० मा प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो । त्यतिबेला बिनाएजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी लिएर आउन सूचना गरिएको थियो । पार्टी एकतापछि स्थायी समितिको बैठक पनि एक पटक मात्र बसेको छ । स्थायी समितिको बैठक पुस २ मा बसेको थियो ।
तर, केन्द्रीय समिति र स्थायी समितिमा एजेन्डा नै प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला समिति गठनको एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टीभित्र तरंग फैलिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।