newskoseli.Com

देशै हल्लाउने त्यो समाचार : दुवैतिरबाट अस्वीकार !

सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका । सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो सो गाउँपालिका । सञ्चार माध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो ।

कारण हो, गाउँपालिका– ३ स्थित छेस्काममा रहेको प्रहरी चौकी सरकारद्वारा ‘प्रतिबन्ध’ लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिए भन्ने ‘सनसनीपूर्ण समाचार’। विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको र विप्लवका कार्यकर्ताले पाँच घन्टासम्म चौकी नियन्त्रणमा लिएको भन्नेजस्ता समाचार आइरहे । घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले ।

सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो । बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्‍यो । स्थानीय वासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेता–कार्यकर्ताले धावा बोलेका थिए न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए । त्यहाँ विप्लवका नेता–कार्यकर्ता भने देखिएका थिए ।

चौकीमा आक्रमणबारे आफूलाई जानकारी नभएको गाउँपालिकाका अध्यक्ष सागर किरातीले टेलिफोनमार्फत बताए । केही दिनदेखि गाउँमा बाहिरबाट आएका व्यक्तिको बाक्लो उपस्थिति भने उनले स्वीकारे । ‘गाउँपालिकाको ५ नम्बर वडाको नुर्कुम र अन्य केही ठाउँमा विप्लवका कार्यकर्ताको आउजाउ गरिरहेको रिपोर्ट आएको हो,’ अध्यक्ष किरातीले भने– ‘नेपाल प्रहरी र सशस्त्रको गस्ती परिचालन भएको छ तर यहाँ अहिलेसम्म कुनै घटना भएको छैन ।’

स्थानीयका अनुसार केही समययता उक्त क्षेत्रमा विप्लवका नेता–कार्यकर्ताको भने चहलपहल बढेको थियो । नयाँ अनुहार भएका मान्छेको चहलपहल बढेपछि प्रहरी चौकीका सीमित प्रहरीलाई आफैंमाथि आक्रमणका लागि संगठित भएर आएको सुराक पुगेको थियो । छेस्काममा सात जना प्रहरी रहे पनि आइतबार असईको कमान्डमा चार जना मात्रै थिए । आक्रमण गर्ने संकेत पाएपछि प्रहरी चौकी छाडेर उनीहरु आफैं सुरक्षित बसेका मात्र हुन् ।

विप्लवका नेता–कार्यकर्ताको बाक्लो उपस्थितिले त्यहाँ हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्ने र उनीहरूका गतिविधि अध्ययन गर्ने उद्देश्यले अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको खबर शिवप्रसाद ढुंगानाकिशोर बुढाथोकीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर