आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेका खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । घरपरिवार त्यागेर तत्कालीन माओवादी जनयुद्धमा होमिएकी जनमुक्ति सेना (पूर्वलडाकु) ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् ।
बेलुका अँध्यारो बढ्दै जाँदा उनी बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणी– ५, जगार, जबरबोटकी निर्मला आठ वर्षअगाडिदेखि रोगले थलिएकी हुन् । छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने उनका छोरा जीवनलाई लागेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् ।
‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ, सुत्ने लुगा पनि छैन, जाडोमा पनि यस्तै हो,’ आमालाई हेर्दै जीवले भने– ‘सानो छु, केही गर्न सक्दिनँ, छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ ।’ एउटा असाध्यै पीडादायी वास्तविकता, इतिहासमाथिको व्यंग्य र कृतघ्नताको ज्वलन्त उदाहरणसम्बन्धी यो खबर दिनेश सुवेदीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।