newskoseli.Com

विप्लव नेकपामा ‘नयाँ सेक्टर काण्ड’ : ‘कमान्डरको घातक कमब्याक र भयानक ब्याकफायर’ !

विप्लव तथा प्रकाण्डकाे फाइल तस्बिर

नेपाल बन्द सफल पार्न बम विष्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र ‘नयाँ सेक्टर काण्ड’ का रुपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम र युद्धका सामान्य नियम समेत थाहा नभएका कार्यकर्तालाई विष्फोट गराउन निर्देशन दिँदा ठूलो क्षति पुगेको विप्लव नेकपाको निष्कर्ष छ । ‘यो कारबाही अपरिपक्व हो, यो नयाँ सेक्टर काण्डजस्तो भएको छ’– स्थायी समितिका एक सदस्यले भने ।

२०४४ मा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य ‘किरण’ को नेतृत्वमा उपत्यकाका ४–५ प्रहरी सेक्टरमा भएको दोहोरो भिडन्तमा प्रहरी र पार्टी कार्यकर्ता घाइते भएका थिए । पञ्चायती व्यवस्थामा उपत्यकामै प्रहरीमाथि हमला गर्दा थुप्रै कार्यकर्ता पक्राउ परेका थिए । कम्युनिस्टहरु त्यसलाई क्रान्ति गर्दाको असफल प्रयासकै बिम्बका रुपमा ‘सेक्टर काण्ड’ का नामले स्मरण गर्दछन् ।

त्यसको ६ महिनापछि महामन्त्री वैद्यले पदबाट राजीनामा गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो जिम्मेवारी दिएका थिए । अहिले त्यही घटनाको जस्तो अवस्था देखापरेको भन्दै विप्लव नेकपाभित्र अन्तर्विरोध समेत चर्किएको छ । युद्ध गरेर जित्ने अवस्था नरहेको भन्दै एकथरी नेता र कार्यकर्ता वार्तामा जानुपर्ने पक्षमा छन् ।

गतसाता बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा विष्फोटका लागि सामग्री तयार पार्दा चार कार्यकर्ताको मृत्यु भएको थियो । एक जना घाइते ओम अस्पतालको आईसीयूमा जीवनमरणको दोसाँधमा छन् । अहिलेसम्म उनको ठेगाना पत्ता लागेको छैन । परिवारका सदस्य सम्पर्कमा आउन सकेका छैनन् ।

सैन्य तालिम समेत नदिइएका कार्यकर्तामार्फत बम विष्फोट गराउँदा ठूलो क्षति भयो,’ स्थायी समितिका ती सदस्यले भने– ‘मध्य कमान्ड इन्चार्जले पार्टीको मुख्य नेतृत्वसमक्ष आफूलाई स्मार्ट देखाउन जथाभावी कार्यकर्ता पठाए, त्यो नै ठूलो गल्ती थियो, त्यसले गर्दा क्षति भयो, यस्तो क्षति त सेक्टर काण्डमा पनि भएको थिएन ।’ सामान्य बन्द बाहेक मानवीय क्षति गर्ने पार्टीको नीति नभएको ती सदस्यले बताए ।

पार्टी नेतृत्वलाई तत्काल काम देखाउने मनसायअनुसार उनले कार्यकर्ता परिचालन गरे, राजधानीका विभिन्न स्थानमा ठूलो मात्रामा विष्फोटक पदार्थ राखे तर त्यसबाट पार्टीलाई ठूलो क्षति भयो । ‘वास्तवमा यो सेक्टर काण्डभन्दा पनि ठूलो गल्ती थियो, यो कमान्डरको ‘घातक कमब्याक र भयानक ब्याकफायर’ हो’– ती सदस्यले भनेको खबर दीपेन्द्र विष्टको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर