सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए– ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’
यो धम्कीबारे सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि ‘न्युज– २४’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे– ‘मेयरसा’ब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ नि ?’
जवाफमा चौधरीले भने– ‘एक करोड मात्र होइन, दस करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने… ।’
‘यो त कानुन हातमा लिने काम भएन र’ भन्ने प्रश्नमा मेयरको जवाफ छ– ‘पुलिस–प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नोस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’
‘जनप्रतिनिधि’–पत्रकार तिक्ततासम्बन्धी यो खबर देवनारायण साहको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।