सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डीआईजी कारबाहीमा परेका छन् । सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डीआईजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही सुरु गरेको हो ।
बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआईजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो । समितिले केही दिनअघि आईजीपी शैलेन्द्र खनाललाई बुझाएको प्रतिवेदनमा तल्लो तहका प्रहरीको रासनभत्ता डीआईजीसहितका हाकिमले लिएको भन्दै कारबाहीको सिफारिस गरिएको थियो । सोही प्रतिवेदनका आधारमा सशस्त्रको मुख्यालयले कारबाही अघि बढाएको छ ।
‘जवानहरूलाई महिना लामो बिदामा पठाएर उनीहरूको रासनभत्ता लेखापालले नदिएको पाइयो,’ छानबिन समितिमा रहेका एक प्रहरी अधिकारीले भने– ‘डीआईजीको संलग्नताविना यस्तो सम्भव नभएकाले उहाँमाथि समेत कारबाही गर्न भनेका छौं ।’ छानबिन समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । प्रतिवेदनमाथि अध्ययन भइरहेको सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताएको खबर नवराज मैनालीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।