नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो ।
पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका गुटहरुमध्ये थापाको गुट निर्णायक बनेको छ । थापा समूहबाट एक सचिवालय सदस्य र दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए ।
जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्ष समेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । आन्तरिक शक्तिसंघर्षमा अब बादल जता ढल्कन्छन्, उतै पल्लाभारी हुने स्थिति सिर्जना भएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।