निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदहरुलाई ६ करोडका दरले बजेट छुट्याएको प्रसंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ ।
संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड रुपैयाँ छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तिमा ८० हजार पुग्छ । यस्तोमा सांसदले आफैं ल्यापटप किन्न नसक्ने प्रश्न नै रहँदैन । जबकि बजारमा ३० हजार रूपैयाँदेखिका ल्यापटप पाइन्छन् । तर, संसद सचिवालयले भने एक लाख रूपैयाँ पर्ने ल्यापटप खरिद गर्न लागेको छ ।
संसदको व्यवस्थापन बोर्डले ल्यापटप खरिद गर्ने निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । बोर्डमा सभामुखको अध्यक्षतामा राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्षसहित संघीय संसद् सचिवालयका महासचिव र सचिव सदस्य रहन्छन् ।
‘ल्यापटप चाहियो भन्ने धेरै संसदको माग थियो, विदेशी संस्थाको सहयोग मागेर भए पनि किन्नुपर्छ भन्नेसम्मका माग आएका थिए । तर, हामीले संसदकै बजेटले किन्ने निर्णय गरेका हौं’– सभामुख कृष्णबहादुर महराले भनेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।