कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौंको थानकोटस्थित ग्रीन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।
सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयताका ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् । नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिइरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली ‘वामपन्थी’ राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् । त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।