
दिनप्रतिदिन बिरामीहरुको उपचारमा लापरबाही भयो, बिरामीको अंगभंग भयो, मृत्यु समेत भयो भन्ने घटना बढिरहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले प्रदान गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको खबर सार्वजनिक भएको छ ।
पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै नेपाल डेन्टल एशोसियसनले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदानलगायतका निकायमा उजुरी दिएको छ ।
एशोसियसनले जेठ ३० मा दर्ता गरेको उजुरीमा लेखिएको छ‘देशको प्रतिष्ठित स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैरचिकित्सकलाई विशेषज्ञ चिकित्सकका रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुने गरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ ।’
उजुरीमा अगाडि उल्लेख छ– ‘देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा, यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमानदार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ ।’
संवेदनशील निकायको असंवेदनशील व्यवहारसम्बन्धी यो खबर भगवती तिमिल्सिनाको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।