खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम पूरा गर्न ठेक्का आह्वान गरेको छ । करिव ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आह्वान गरिएको हो ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आह्वान गरिएको छ । ‘व्ययभार नबढ्ने गरी टेन्डर आह्वान गरेका छौं,’ उनले भने– ‘चाँडै सबै प्रक्रिया पुर्याएर काम अघि बढाउँछौं ।’
सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरिएको छ । तिनलाई पनि १० वटा स–साना प्याकेजमा बाँडिएको छ । पहिलो प्याकेजभित्र हेडवर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायतका निर्माणकार्य छन् ।
विभिन्न प्याकेजमा काम गर्दा करिव ११ महिनाभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए । सुरुङलगायतका काम सम्पन्न गर्न करिव २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान रहेको खबर दीपेन्द्र विष्टको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।