बिहीबारदेखि भित्रिएको मनसुनको प्रभावले मुलुकका केही भेगमा भारी वर्षा समेत सुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।
ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनार आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।
आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला–नदी किनारमा सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने– ‘खासगरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’ चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको जानकारी पराजुलीले दिएको खबर टीका बन्धनको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।