सत्ताधारी नेकपाका शीर्ष नेताहरुले सरकारका कामको ‘समीक्षा गर्न’ माग गरेका छन् ।
सरकारका कामकारबाहीमा आफूहरु बेखबर रहेको भन्दै केन्द्रीय सदस्य, स्थायी समितिका सदस्य र सांसदहरुले समेत प्रश्न उठाइरहेका बेला सचिवालयकै शीर्ष नेताहरुले पनि त्यस्तै प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालमाथि गरेका हुन् । झन्डै तीन सातापछि बसेको सचिवालयको बैठकमा शनिबार वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाल र नेता वामदेव गौतमले पार्टी र सरकार दुवै राम्रो ढंगले चल्न नसकेको धारणा राखे ।
‘सरकारका कामको समीक्षा गरौं, स्पष्ट नीति र छलफल नहुँदा सरकार र पार्टी राम्ररी चलेका छैनन्’– बैठकमा अध्यक्षहरुलाई ध्यानाकर्षण गराइएको विषय उद्धृत गर्दै एक नेताले भने । पार्टीको आन्तरिक संगठन दह्रो नभैकन सरकार बलियो नहुने भन्दै उनीहरुले सुझाव दिएका छन् । सरकारले गरिरहेका काममा बाहिरबाट व्यापक प्रश्न आउँदा त्यसको जवाफ दिन गाह्रो भैरहेको उनीहरुको धारणा थियो । ‘संसदमा विधेयकहरु आफ्नो ढंगले आउँछन्, पार्टीका नेताहरुलाई थाहै हुँदैन र डिफेन्ड गर्न सकिँदैन,’ बैठकमा राखेको कुरा उद्धृत गर्दै एक नेताले भने– ‘हामीलाई थाहा भए पो डिफेन्ड गर्ने ! थाहा हुने कुनै संयन्त्र छैन, एकैचोटि संसदमा प्रस्तुत हुन्छ ।’
कसैले पूर्वाग्रही भएर टिप्पणी गर्यो भने पनि त्यसको खण्डन गर्न नसक्ने अवस्था रहेको नेताहरुले उल्लेख गरेका थिए । सरकारले पछिल्लो समय संसदमा ल्याएका झन्डै एक दर्जन विधेयकमाथि सडकदेखि सदनसम्म विरोध भैरहेको छ । गुठी विधेयकका कारण सडक आन्दोलन समेत चर्किएपछि गतसाता सरकार पछि हट्नु परेको थियो । पछिल्लो घटनाले नेकपा र सरकारलाई रक्षात्मक अवस्थामा पुर्याएको नेताहरुको विश्लेषण छ ।
एक वर्ष बितिसक्दा पनि पार्टीको राजनीतिक दस्तावेज प्रकाशन नहुँदा कसरी अघि बढ्ने भन्नेमा आम कार्यकर्तालाई अन्योल भएको विषय पनि बैठकमा उठेको थियो । छिटो दस्तावेज प्रकाशन गरेर पार्टीलाई नीतिगत रुपमा स्पष्ट बनाउँदै नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव पनि नेताहरुले गरेको खबर दुर्गा खनालको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।