बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ ।
मनसुन शनिबार मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन शनिबार रातिदेखि नै पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ । त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौंमा भने शनिबार अबेरसम्म पानी पर्ने र रोकिने भए पनि आइतबार फाटफुट मात्र वर्षा हुनेछ । न्यूनचापीय मनसुनको बादल तय भए पनि यो परिपक्व हुन अझै समय लाग्ने महाशाखाले जनाएको छ ।
मनसुन भित्रिएर पानी परेसँगै चर्को गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् । गर्मी अझै कम हुन मनसुन सक्रिय हुनुपर्ने मौसमविदको भनाइ रहेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।