‘कन्ट्रयाक्ट किलर’ बोलाएर छोरीद्वारा आफ्नै आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई ७–७ र २ लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।
मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई ७ दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस तथा सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद दिइएको छ । चाँगुनारायण नगरपालिका– ७, बाँसबारी, आइतबार भक्तपुरस्थित घरमै आइतबार घाँटी रेटी सावित्री भट्टराईको हत्या गरिएको थियो ।
हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षिय अविवाहित मोहम्मद नौसादबीच कायम ‘विवाहेत्तर प्रेम’ रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ । हत्याको घटनासँगै परिवारका सदस्यले घरबाट २२ लाख रुपैयाँ हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार भारतमा रहेकी मृतककी जेठी छोरीका निम्ति जग्गा किन्न भन्दै २२ लाख रूपैयाँ जुटाइएको थियो ।
प्रहरीका अनुसार घर बनाउन भारतमा रहेकी मृतककी जेठी छोरीसँग इश्वरी र उनका श्रीमानले १२ लाख रूपैयाँ सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख रूपैयाँ ऋण लिएका थिए । हाल उक्त रकम हराइरहेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।