प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै उनको आलोचना भएको हो ।
मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा गत शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए– ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नु पर्दैन, मास्क लगाएर हिँड्नु पर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले सडकमा कोही पनि मास्क लगाएर हिँड्दैनन् ।’
प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले ताली समेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर, यथार्थ भने ठीक उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत उनको चर्को आलोचना भैरहेको खबर श्याम राईको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।