त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ । संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्य सचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘मैले कापी काटेर बुझाइसकेपछि त्रिभुवन विश्वविद्यालय सेवा आयोगका कर्मचारी र पदाधिकारीले फेरि बोलाएर अंक थप्न लगाए,’ अख्तियारमा बयानका क्रममा प्राध्यापक गोविन्दप्रसाद ढकालले भनेका छन्– ‘सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य सचिव परशुराम कोइराला र बच्चु भन्ने कर्मचारीले यसो गर्न लगाएका हुन् ।’
कापी बुझाएपछि फेरि प्राप्तांक परिवर्तन गर्न लगाएको उल्लेख गर्दै उनले भनेका छन्– ‘यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै पछि नम्बर थप्न लगाएका हुन् ।’ थपेको अंक आफ्नो विवेकको नभएको उनले स्वीकारेको खबर सुदीप कैनी र कृष्ण ज्ञवालीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।